समाचार

बैतडीका विद्यालयमा आइतबारदेखि पठनपाठन हुने

school

१५ कात्तिक, बैतडी । बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।

दशैंअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका  शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने,“नगरका सबै विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन हुन्छन्, पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका छौँ ।”

यस्तै मेलौली नगरपालिकामा पनि भोलिदेखि पठनपाठन क्रियाकलाप सञ्चालनमा आउने भएको छ । जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष विद्यालयमै पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखाप्रमुख हरिश भट्टले जानकारी दिए ।

यसअघि सञ्चालनमा रहेका मेलौलीका विद्यालयहरु नगरपालिकामा कार्यरत कर्मचारी र स्थानीय बासिन्दामा कोरोना पुष्टि भएपछि गत असोज १८ गतदेखि बन्द गरिएका थिए । सङ्क्रमित कर्मचारी र स्थानीयवासीले कोरोना जितेपछि पुनः वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको मेलौली नगरपालिकाले जनाएको छ ।

कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै पुनः पठनपाठन सञ्चालन गरिन लागिएको हो । मेलौली नगरपालिकामा ४६ सामुदायिक र तीन निजी विद्यालयमा गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

पुर्चौडीमा नगरपालिकामा ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । जिल्लामा हालसम्म ४६८ जनाका कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । यसमध्ये आठ जना मात्रै सक्रिय सङ्क्रमित  छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस