१५ असोज, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० निर्णय गरेको छ । निर्णयअनुसार सरकारले करका दर घटाउने निर्णय गरेको छ ।
आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि गरेको छ ।
यस्तै तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो ।
यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएकोमा स्वीकृति भएको छ भने मुख्य सचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा गरी नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै बैठकले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिका, आजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्य र डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।