खेलकुद समाचार

रोहितको कीर्तिमानमा मुम्बईद्वारा पञ्जाब ४८ रनले पराजित

roit sharma

१६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ । बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिए । मुम्बईका लागि जेम्स प्याटिन्सन, जस्प्रीत बुमराह र राहुल चहारले २–२ विकेट लिए । पञ्जाबका ५ खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।

पञ्जाबविरुद्ध मुम्बईको यो सबैभन्दा ठूलो जीत हो । यसअघि मुम्बईले पञ्जाबलाई सन् २०१६ मा २५ रनको अन्तरले हराएको थियो । बिहीबारको खेलमा रोहित शर्मा आईपीएलमा ५ हजार रन पुरा गर्ने तेस्रो खेलाडी बने । उनीभन्दा अघि विराट कोहली र सुरेश रैना रहेका छन् ।

यसअघि, मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए । योसँगै रोहितले प्रतियोगितामा सर्वाधिक अर्धशतक बनाएको सुरेश रैनाको रेकर्डलाई पनि बराबरी गरेका छन् । आईपीएलमा रोहितको यो ३८ औँ अर्धशतक थियो । किरोन पोलार्डले विस्फोटक ब्याटिङ गर्दै २० बलमा नटआउट रहँदै ४७ रन बनाए । हार्दिक पान्ड्याले ११ बलमा ३० रन बनाए । पोलार्ड म्यान अफ द म्याच चुनिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस