
१६ असोज, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय तौलिहवाले यहाँ रोमिङ अर्थात् घुमफिर सेवा प्रणाली लागू गरेको छ । कोरोना भाइरसको महामारीका समयमा सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रशासनले घुमफिर प्रणाली लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो ।
प्रशासनका अनुसार आइतबार र बुधबार बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउनेछन् । सोमबार र बिहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार र शुक्रबार समय तोकिएको छ ।
जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट पनि सेवा प्रवाह भइरहेको छ ।