
१६ असोज, काठमाडौं । नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन् ।
टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान) ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यसाथ इलेक्ट्रोनिक्स कन्सर्न एन्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग सम्झौता गरेको छ ।
एसोसिएसनले ईसीआरसीसँगको सम्झौतापछि नेपालभर सञ्चालन हुने टुरिस्ट बसहरुको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ । टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष सन्जित पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रुपमा सञ्चालनमा रहेका सवारीसाधनहरुको टिकट अनलाइन तथा एपबाटै बुकिङ गर्न सकिनेछ ।
पछिल्लो दिनमा कोभिड १९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुलाई सुरक्षित र सहज रुपमा पर्यटन सार्वजनिक यातायातका साधनहरु उपलब्ध गराउने उद्देश्यसाथ यो सम्झौता भएको जनाइएको छ ।
सम्झौताअनुसार दसैंका लागि टिबानका पर्यटक सार्वजनिक यातायातका साधनहरुको अग्रिम बुकिङ अनलाइनमार्फत सुरु गरिनेछ । सुरुवाती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुने र क्रमशः अन्य सहरहरुमा पनि सेवा विस्तार गरिने टिबानले जनाएको छ ।