समाचार

घर भत्किएपछि सुत्केरीको बास पौवामा

women

१६ असोज, अर्घाखाँची । उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहे को छ । यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्नु बाध्य हुनु भएको हो । “बस्दै आएको घर पहिराले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ ।

बच्चालाई जेनतेन स्याहार गरेकी छु” उनी भन्छन्, “आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । पछि राहत आएपछि भात खान पाएको छु ।”उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेका छन् । उनी पनि पहिराले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ ।

शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिराको जोखिममा छन् ।

सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ । नगरपालिका­१२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए । ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरुपमा भत्किएका र १३ घर पहिराको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिराको जोखिममा रहेका छन् । पहिराको क्षतिको यकिन विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस