
१७ असोज, दाङ । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक लगाइएको छ । प्रदेश राजधानी प्रस्ताव गरिएका दाङका दुई र अर्घाखाँचीको एक पालिकामा प्रदेश सरकारले जग्गा किनबेच गर्न रोक लगाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार नै मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीलाई पत्राचार गरी अर्को आदेश नभएसम्म जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको जानकारी गराएको छ ।
राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी दिएका छन् ।
प्रदेश राजधानी प्रस्तावित क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार बढ्ने भएकाले सो निर्णय गरिएको हो । यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानी रहने चर्चा चल्दा जग्गाको अस्वाभाविक कारोबार भएको थियो । तर सरकारले रुपन्देहीको बुटवलमा अस्थायी राजधानी तोकिदिएपछि कारोबारीहरुको लगानी डुबेको थियो ।