समाचार

बिरामी भएको कागजात देखाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ

magne pakrau

१७ असोज, मोरङ । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा बिरामी भएको कागजात देखाएर ठगी गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

विभिन्न अस्पतालको कागजातसहित उनीहरुले इटहरी–२ स्थित देविथानको क्षेत्रमा स्थानीयसँगै छोराको मिर्गौलामा समस्या भएको, कान नसुन्ने, आँखा नदेख्ने भन्दै रकम माग्दै आएका थिए । पटक–पटक विभिन्न बहानामा अमन मगर, मदन खत्री, र ललित गिरीले पैसा माग्ने गरेको भन्दै स्थानीयले आजित भएर बुधबार प्रहरीलाई खबर गरेका थिए ।

खबरसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले उनीहरुको शंकास्पद गतिविधि अनुसन्धान गरेका थिए । प्रहरीको टोलीले तीनै जनाले झुठो बहानामा आर्थिक सहयोग मागी ठगी गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार पक्राउ पर्नेमा सुनसरी धरान–१६ गैरीगाउँ बस्ने २१ वर्षीय अमन मगर, भोजपुर कटुन्जे घर भई सुनसरी बस्ने २५ वर्षीय मदन खत्री र झापा खदनावारी घर भई सुनसरी बस्ने ललित गिरी रहेका छन् ।

बिरामीको बाहानामा स्थानीयलाई हैरान पारेपछि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । उनले यस प्रकारको बहाना गरी घरमा कोही आएको खण्डमा सचेत रहन र घटना भइहाले प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस