
१७ असोज, काठमाडौं । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नंको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ५०प ४५५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए । मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए। उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।