
१८ असोज, काठमाडौं । साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन् । तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने । आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन् ।
यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो । खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन् । छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन्। उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन् । त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन् । प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन् ।
विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन् । त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन् ।
असोज २ गते कर्जन्हा नगरपालिका–३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट बलात्कृत भइन् । रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले बलात्कार गरे । किशोरी चिच्याउन थालेपछि मुखमा कपडा कोचेर राक्षसी व्यवहार गरियो। आरोपित फरार छन् ।
भदौ १ गते धनुषाधाम–९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित घर फर्किरहेकी किशोरीलाई सामूहिक बलात्कार गरियो । आठजना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चारजनाले बलात्कार गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन् ।
यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै बलात्कृत भइन् । हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा बलात्कृत भएकी थिइन् । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।