१८ असोज, काठमाडौं । भक्तपुरमा एक सार्वजनिक बसभित्र लठ्ठिने औषधी खुवाएर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।
रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले बताए । बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्रेको छ ।
पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।
बलात्कारमा संलग्न आरोपी सो गाडीका स्टाफ हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । ‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बताएकी छिन् । शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् ।