
१८ असोज, काठमाडौं । प्रहरीले पाटे बाघको छाला बेच्न खोज्ने ४ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साढे १० बजे स्वयम्भूस्थित होटल प्लाजाबाट चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले स्वयम्भू एरियामा केही व्यक्तिहरूले पाटे बाघको छाला बिक्री गर्न लागेको भन्ने सुराक पाएको थियो । त्यही सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं महानगर १५ स्वयम्भूको होटल प्लाजा कोठा नं. २०८ बाट नौ फिट लामो र दुई फिट २ इन्च चौडाई भएको छाला बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा धादिङको गल्छी घर भइ काठमाडौंको गोलढुंगा बस्ने ४३ वर्षीय ज्यामी काम गर्ने टेक बहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय दुनोट व्यापारी सुजन थिङ, २७ वर्षीय आशिष तामाङ र २४ वर्षीय सानुकान्छा थिङ रहेका छन् ।
पाटेबाघको छाला धादिङका एक स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाखमा खरिद गरी ल्याएको र ६० लाखमा बिक्री गरी बाँडेर खाने र दशैं मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।