
१८ असोज, बाग्लुङ । क्षमताभन्दा बढी कैदीबन्दीका कारण जिल्ला कारागार कोभिड–१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । कोरोना भाइरस महामारीको समयमा कैदीबन्दीहरुको अवस्था बुझ्न बागलुङ कारागार पुगेको आयोगको टोलीले कोरोना सङ्क्रमणको उच्च जोखिममा कैदीबन्दीहरु रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
भेटघाट, अदालत, अस्पताल र खाद्यान्न तथा तरकारीको बन्दोबस्तीका समयमा समेत कारागार बाहिरबाट कोरोना भित्रिन सक्ने भन्दै टोलीले सरोकारवालालाई सचेत बनाएको थियो । अनुगमनका क्रममा कारागारमा कोरोनाको जोखिम उच्च पाइएको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए । उनले अदालतमा वयानका लागि पुग्दा होस् वा स्वास्थ्योपचारका लागि बाहिर निस्किने कैदी हुन्, बाहिर निस्केपछि कारागार बस्नु पूर्वको सावधानी महत्वपूर्ण हुने बताए ।
कारागारको अनुगमन पूर्व आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, जेलर, बार एसोसिएसन, सरकारी वकिल, पत्रकार महासङ्घ, प्रहरीलगायतसँग प्रतिक्रिया लिएको थियो । छलफलमा सहभागी अधिकांशले पूर्वाधारको अभावका कारण एउटै कोठामा कोचाकोच रहेका कैदीबन्दीमा सङ्क्रमणको त्रास उच्च रहेको बताएका थिए ।