समाचार

कोरोनाका कारण बन्द रहेको तातोपानी नाका खुल्यो, ११ कन्टेनर भित्रिए

tatopani naka

१८ असोज, काठमाडौं । लामो समयदेखि बन्द रहेको तातोपानी नाका आइतबारबाट पुन: सामान आउन सुरु भएकाे छ ।

गएकाे असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु गर्ने सहमति भएसँगै आइतबारदेखि चिनियाँ सामान आउन थालेकाे हो । आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । ती सामान लिन चालक र मजदुर गरी २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा सामान लोड गर्न गएका छन् । बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने खत्रीले बताए । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाण्डौ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस