
१९ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले प्रदेश ५ को राजधानीका सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भइरहेका प्रदर्शन, सरकारी दमन र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापुर्बक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
नेविसंघका महामन्त्री तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अबस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कॉंग्रेसका नेताहरु हरिलाल पाण्डे, शिव गैरे,बिष्णु पोख्रेल, ज्ञानेन्द्र कार्की, तरुण नेता प्रकाश गैरे पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै तत्काल बिनासर्त रिहाइको माग गरिएको छ ।
गिरफ्तार गरिएका सम्पुर्ण नेताहरुको रिहाइ र वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गर्दै अन्यथा नेबिसंघको नेतृत्वमा कडा संघर्षमा उत्रने महामन्त्री तिमल्सिनाले चेतावनी दिए ।