१९ असोज, बुटवल । प्रदेश ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुलाई घिसारेर निकाल्न आदेश दिएका छन् ।
प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि छलफल गर्ने क्रममा मन्त्री केसीले सांसदहरुलाई ‘समातेर हाल, घिसारेर निकाली हाल’ भन्ने शब्दको प्रयोग गरी बाहिर निकाल्न निर्देशन दिएका हुन् ।
आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस् । घिसारेर निकालिहाल्नुस्। निकालिहाल्नुस् ।’ योबेला कांग्रेस सांसदले संसदीय मर्यादा कायम् गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए ।
लगत्तै बोलेका मन्त्री केसीले थपे, ‘मान्य सदस्यहरू। बाहिर निकालिहाल्नुस् ।’ मन्त्री केसीले कांग्रेस सांसदलाई संसदमा तोडफोड गरेको भन्दै बिपीले गिज्याइरहेको बताएका थिए ।
संसदीय अभ्यासको नमूना कांग्रेसले प्रदेशसभामा तोडफोड गरेको उनको भनाइ थियो । सभामुखले समय दिएपछि मन्त्री केसी सांसदले सोधेका प्रश्नको जवाफ दिन रोष्टम पुगेका थिए ।