
१९ असोज, काठमाडौं । नेपाली काँग्रेसले प्रदेश ५ को प्रदेशसभामा आफ्ना सांसदबाट भएको कुर्सी तोडफोड पार्टीको नीति तथा संस्कृति विपरीत भएको बताएको छ । सोमबार साँझ ट्विट गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताएका हुन् ।
प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए । आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए ।
‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,’ प्रवक्ता शर्माले ट्विटमा लेखेका छन् ।
संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो !
अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 5, 2020
उनले कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको समेत उल्लेख गरेका छन् । ‘रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ ट्विटमा लेखिएको छ ।
संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि कांग्रेसका लागि रोजाइको पद्धति भन्दै प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई `छिटपुट´ भनेर नछोप्ने दाबी गरेका छन् । उनले कठोरतापूर्वक सच्याएर बढ्ने समेत बताएका छन् ।