
२० असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएको नेपाली काँग्रेसकी सचेतक निमला क्षेत्रीले बताइन् । उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको तर नामका बारेमा भने काँग्रेसको असहमति नरहेको खुलाइन् ।
काँग्रेसले निर्णय गरेपनि काँग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको नेपाली काँग्रेस दाङका एक सांसदले बताए । प्रदेशमा नेपाली काँग्रेसका १९ जना सांसद रहेका छन् । यसमध्ये राप्ती र भेरी अञ्चलका ६ जना रहेका छन् । उनीहरु दाङकै पक्षमा मतदान गर्ने तयारी गरेको ती सांसदले बताए ।
प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका छन् ।