२० असोज, काठमाडौं । चाड पर्वलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अप्रेशन थालेको छ । चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाईदा उठाई बढी भाडा लिई टिकट काट्ने ५ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताए ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो/भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर यादवले बताए ।