२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।
‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं,’ थापाले ट्वीट गरेका छन् ।
थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ‘तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ लेखेका छन् ।
पछिल्लो समय गुरू योजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा आन्दोलनमा छन् ।