समाचार

फर्जी नागरिकता बनाइदिएको आरोपमा ज्वाइँ–ससुरा पक्राउ

citizenship

२१ असोज, काठमाडौं । सल्यानमा फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–७ जिताठानका ४६ वर्षीय मुस्ताज मियाँ र दाङको बबई गाउँपालिका–७ घर भएका २३ वर्षीय समिर मियाँ भन्ने ईमाम बक्स मियाँ छन् ।

छत्रेश्वरी गाउँपालिका ७ वडा कार्यालयको सिफारिसमा २०७५ भदौ २४ गते मुस्ताज मियाँका छोरा भन्दै ज्वाइँ समिर मियाँले नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउमा परेका दुबै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

दाङ घर भएका समिर मियाँले बाबु बिसमुल्ला मियाँलाई पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेकाले सल्यान आएर ससुरालाई बुवा बनाएर नागरिकता लिन परेको बयान दिएको प्रहरी निरीक्षक ओलीले बताए । पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस