
२२ असोज, काठमाडौं । दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन् । उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन् । बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे । अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन् ।
उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन् । त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे । बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पु¥याए । त्यसपछि इकाइ प्रमुखले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई जानकारी गराए ।
प्रहरीले रैदास अपहरणका आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका डीआईजी सहकुल थापाले ९ दिनअघि पक्राउ परेका श्रेष्ठको बयान लिने काम सकिएको जानकारी दिए । डीआईजी थापाका अनुसार पीडित रैदास केही दिनभित्रै मलेसियाबाट आइपुग्नेछन् । त्यसपछि थप अनुसन्धान सुरु हुने डीआईजी थापाले सुनाए । श्रेष्ठलाई भने नेपाल आएको मौकामा कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।