समाचार

भालुबाङको भाग्य चम्कियो

dang bhaluwang

२२ असोज, काठमाडौं । वर्षैंदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थिएन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लालपुर्जा’ । लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो । तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो ।

प्रादेशिक राजधानीको प्रमुख हिस्सेदार (केन्द्र) बनेको भालुबाङले पाएको यो अमूल्य हिस्सा उसकै लागि ‘अकल्पनीय’ बन्यो । ‘बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा थियो,’ स्थानीय ताराबहादुर डाँगी भने, ‘यो अनुपम उपहार भालुबाङका लागि अकल्पनीय नै हो ।’

पहिलो प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनको समयमा जिल्लाका अन्य भेगमा जस्तै भालुबाङमा ‘दाङ राजधानी’ को नारा प्रमुख चुनावी अजेण्डाका रूपमा घन्कीयो । आँफूलाई भेगीय रूपमा उपेक्षित महशुस गर्दै आएको भालुबाङले त्यो बेलाको नारामा उल्लेख भएको ‘राजधानी’लाई आँफूसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न सकेन ।

‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भइहाले पनि त्यहीँ उपत्यकामा बस्छ भन्नेमा हामीहरु ढुक्क थियौँ ।’ ताराले भने, ‘निर्वाचन पश्चात् दाङ राजधानीका पक्षमा भालुबाङमा पनि आगो बल्यो । दाङको घोराही, तुलसीपुरको आन्दोलन जस्तै भालुबाङले पनि पूर्वी सीमा क्षेत्रमा ठूलो शक्ति देखायो । तर साविक लुम्बीनी अञ्चलको सीमा क्षेत्रमा शक्ति प्रदर्र्शन गरेको भालुबाङलाई त्यो बेला पनि राजधानी केन्द्रको अपेक्षा थिएन ।’ यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस