
२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् ।
घटना भएको तीन दिनसम्म पनि अपराधी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी पनि प्राध्यापक संगठनहरुले दिएका छन् ।
विश्वविद्यालय प्रशासनले घटनालाई गम्भिर रुपमा लिएर अपराधीलाई तत्काल कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने माग गर्दै संगठनहरुले उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाएका हुन् । दिनदहाडै विश्वविद्यालयको हाताभित्र जघन्य आपराधिक घटना हुनु विश्वविद्यालय, प्राध्यापक, कर्मचारी र विद्यार्थीका लागि गम्भिर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले विश्वविद्यालय हाताभित्र प्राध्यापकमाथि आक्रमण हुनु दुःखद भएको बताए । अपराधीलाई तत्काल पक्राउ गरी कारवाहीको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताए ।