२३ असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयमा यस्तो सूचना आएको जानकारी दिएका हुन् ।
यस्तो भएमा घरपरिवार र छिमेकी अनुगमन गरी खबर गरिदिन गौतमले आग्रह गरेका छन् । पोजेटिभ रिपोर्ट आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडडुल गर्ने, अरुलाई भेट्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुने प्रवक्ता गौतमले बताए ।
त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस