समाचार

धरहरा पुनर्निर्माणको समय ९ महिना थप

Dharahara

२३ असोज, काठमाडौं । निर्माणाधिन धरहराको निर्माण अवधि ९ महिना थप गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।

कोभिड १९को  कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए। अहिले सम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए ।

त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए। जसमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।

त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए। कोभिड १९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उनको भनाई छ । अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौति रहेको श्रेष्ठको भनाई छ ।

२२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३ सय ५० जनाले काम गरेका थिए ।

लकडाउनको बेला पनि २०/२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिएको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस