
२३ असोज, जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ४३ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
सप्तरीको राजविराज नगरपालिका -६, राजगढ घर भएका ७० वर्षीय पुरुष, सप्तरीकै रुपनी गाउँपालिकामा घर भइ काठमाडौंमा उपचार गराइरहेका ३६ वर्षीय पुरुष र सिरहाको लहान नगरपालिका –६ घर भइ पाटन अस्पतालमा उपचार गराइरहेकी ४८ वर्षीया महिलासमेत तीन जनाको कोरोनाको कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
त्यस्तै, शुक्रबार संक्रमित हुनेहरुमा ६ महिला र ३७ पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १४ हजार ५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका १ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा १४ हजार ५७ जना संक्रमित भएकोमा एक सय ४७ जनाको मृत्यु भएको छ भने ११ हजार सात सय जना कोरोनामुक्त भएका छन् ।