२३ असोज, सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उहाँको काठमाडौंमा कोरोना पोजिटिभ देखिएको रुपनी–१ का सन्तोष यादवले जानकारी दिए ।
काठमाडौं मेडिकल कालेजमा ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको कार्यभार सम्हाल्न आउनु भएका ३६ वर्षीय पुरुषसहित पाँच जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि सरुवा भएर काठमाडौं जानु भएका प्रनाउ कोरोना सङ्क्रमणबाट मुक्त भएपछि नयाँ प्रनाउ राजविराज आउनु भएको हो ।
यसैगरी आज अन्य सङ्क्रमित हुनेमा राजविराज नगरपालिका– १ का ५६ वर्षीय, राजविराज वडा नखुलेको ५६ वर्षीया र ६५ वर्षीय तथा सुरुङ्गा नगरपालिकाको वडा नखुलेका ४५ वर्षीय सङ्क्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३६३ पुगेको छ । ती मध्ये १ हजार १०३ जना निको भएका छन् । हाल जिल्लामा सक्रिय सङ्क्रमित २ सय ४० जना रहेका छन् ।