समाचार

एसिडको घाउमा मायाको मलम

acid love

२४ भदौ, नवलपुर । एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो । उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन् । पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो । ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो । तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन ।

‘पहिला के होला भन्ने डर थियो । आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन् । घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन् । यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ । हरेक काममा साथमै हुन्छन् । पत्नीले नरमाइलो माने उनीे सम्झाउँछन् । अन्यत्रको कुरा गरेर मन भुलाउँछन् ।

एसिड आक्रमणपछि वसन्तीलाई घरबाहिर निस्किन पनि अप्ठेरो लाग्थ्यो। अहिले उनमा आँट पलाएको छ । यो पतिकै मायाका कारण भएको उनले बताइन् । अहिले घाममा निस्किन हुँदैन । एसिडले पोलेको भागमा घामले असर गर्छ ।

पतिकै मायाकै कारण यो समाजका अगाडि आएर उभिन सकेको उनको भनाइ छ । ‘पहिलाको अनुहार र एसिड प्रहारपछि हेर्ने नजर त पक्कै फरक छ नि’, उनले भनिन्, ‘तर, पति र परिवारको माया फेरिएन, यही मेरो खुसी हो ।’

उनी काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ महिनाको उपचारपछि घरमै छिन् । उनी शारीरिक र मानसिक रूपमा तंग्रिँदै छिन् । एसिडले उनका हात, अनुहार, टाउको, छातीमा असर गरेको छ । पति यमनारायणले उनलाई दरिलो साथ दिएका छन् । समाजमा कसरी अनुहार देखाउने भन्ने चिन्ता गर्ने वसन्तीलाई पतिले हिम्मत जुटाइदिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल ढकालले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस