२४ भदौ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए । उनको घरको मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए । नाताले उनीहरु मामा भान्जा हुन् । भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडि यही असोज ६ गतेसम्म रु ६६४ बुझाउनुपर्ने जनाउँदै रसिद थमाए । रसिदको अगाडि भने प्रत्येक महिना रु ३०/३० तिर्नुपर्ने उल्लेख गरिएको थियो । विभिन्न समयको जरिवाना जनाउँदै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गरेको बताइएको छ ।
त्यसलगत्तै थापा नेपाल विद्युत् प्राधिकरण शाखामा पुगेर आफ्नो मिटरबाट बुझाएको रकम हेरे । रकम हेर्दा उनी छक्क परे । गत जेठमा रु एक हजार २०० बुझाएमध्ये जम्मा रु ७४ मात्रै रानाले प्राधिकरणमा बुझाएका रहेछन् । बाँकी रु एक हजार १२६ रानाले आफूसँगबाट बढी असुली गरेको उनले बताए । पछिल्लोपटक पनि रु ६० आएकामा रु ६०४ बढी असुल्न खोजेको थापाले आरोप लगाए । उनले यसपटक मात्र आफूले हेरेको तर विसं २०७० देखि यसैगरी रकम बुझाएको बताए ।
अर्का स्थानीय गोपाल गिरीले पनि मिटररिडर रानाले विगत सात वर्षदेखि बिजुलीको रकम उठाउँदै आएको बताए । सोझा गाउँलेहरुबाट सकेसम्म रकम असुली गरी रानाले विद्युत् प्राधिकरण र मिटररिडर पदको समेत दुरुपयोग गरेको आरोप लगाए । रानाले सधैँभरि जरिवाना भन्दै रकम असुली गर्ने गरेको उनको भनाइ छ । बिजुलीको रकम घटेर आए पनि रानाले सधैँभरि अधिकतम रकम भन्दै असुली गर्दै आएको गिरीले गुनासो गरे ।
गत वैशाख महिनाको स्थानीय पूर्णबहादुर थापाको मिटरको बिलमा तिर्नुपर्ने रकम रु ६० थियो तर बिलको पछाडि भने रु २०० लेखेर उक्त रकम रानाले नै बुझिलिए । उनले प्रधिकरणमा हेर्दा रानाले जम्मा रु ३१ मात्रै भुक्तानी गरेको जानकारी पाए । गत माघ महिनामा नेत्रबहादुर रानासँगबाट मिटररिडरले रु २४० उठाए । बिजुलीको बिलमा रु १८० मात्र आएको उल्लेख थियो भने प्राधिकरणमा जम्मा रु २९ मात्रै रानाले बुझाएका थिए । रानाबाट गाउँका १२५ घरधुरी ठगिएको थापाले बताए ।
विसं २०७० मा स्थानीय उपभोक्ता समितिले रानालाई मिटररिडरको काम गर्ने जिम्मेवारी दिएको हो । बिग्रेको बिजुली बनाउने गरी बिलमा उल्लेख भएभन्दा प्रतिपरिवार रु २० दिनेगरी सम्झौता भएको थियो । यही अवस्थामा रानाले बिलमा दुईथरि रकम उल्लेख गर्दै हालसम्म करिब रु १० लाखभन्दा बढी रकम गाउँलेसँगबाट असुली गरेको वडासदस्य गङ्गा श्रेष्ठले बताए ।
रानाको ठगीका बारेमा गाउँलेले थाहा पाएपछि गत चैत १० गते उपभोक्ता समितिको बैठकले उनलाई हटाउने निर्णय ग¥यो । समितिले उक्त निर्णय विद्युत् प्राधिकरणमा पु¥याए पनि प्राधिकरणले कुरा सुनेन । उल्टै रानालाई मिटररिडरको नियुक्ति दिएको वडासदस्य श्रेष्ठको भनाइ छ । समितिले हटाएपछि पनि रानाले विभिन्न बहानामा स्थानीय उपभोक्तासँग बढी रकम असुल्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
रानाले रकम असुल्न नछाडेपछि स्थानीयवासी ७० जनाले हस्ताक्षर गरेर स्थानीयको रकम फिर्ताका लागि विद्युत् प्राधिकरणमा गत भदौ २५ गते निवेदन बुझाएका थिए । उक्त निवेदनको अझैसम्म पनि सुनुवाइ नभएको वडासदस्य श्रेष्ठले गुनासो गरे । ठगी गरेको आरोप लागेका रानाले आरोप पुष्टि भए कारवाही भोग्न तयार भएको प्रतिक्रिया दिए । पहिले–पहिले तीन महिनाको एकपटकमा मिटररिडर गर्दा रु नौ हजार हुने भए पनि पछिल्लो समयमा त्यो आम्दानी नभएपछि रकम लिएको उनको भनाइ छ ।
प्राधिकरण जिल्ला शाखा गुल्मीका इलेक्ट्रिकल सुपरभाइजर दीपेन्द्र अधिकारीले मिटररिडरलाई रकम उठाउने अधिकार नभएको प्रतिक्रिया दिए । रिडर र स्थानीयवासीको समझदारीमा लेनदेन भएको भए कार्यालय त्यसमा जानकार नहुने उनले बताए ।