समाचार

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि सफाइ अभियान जारी

Bagmati Safai

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती, यसका सहायक नदी र चक्रपथ सफाइ अभियानले भने निरन्तरता पाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३८७औं हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृतवमा सफाइ गरिएको छ । कुहिने फोहरलाई मल बनाइएको र नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नं ३१ का निर्वाचित जनप्रतिनिधिसँग सफाइ अभियानका विषयमा सो अवसरमा छलफलसमेत गरिएको अभियानकर्मी पौडेलको भनाइ छ ।

रुद्रमती सफाइ अभियानको ३४६औं हप्तामा कालोपुलबाट रातोपुलको पूर्वी भाग, रातोपुलबाट सेतोपुलको दुवैतिर गरी २१५ वटा गुर्जोको बिरुवा रोपिएको छ । सफाइमा उपस्थित अभियानकर्मीलाई घर घरमा समेत रोप्न एक–एक गुर्जोको बिरुवा उपलब्ध गराइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

मनोहरा नदी सफाइ अभियानको १८६औं हप्तामा नेपालीको महान् चाड बडादशैं तथा शुभदीपावलीका अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको थियो । महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष, सञ्चारकर्मीलगायतको कार्यक्रममा उपस्थिति थियो ।

चक्रपथ उत्तरी खण्ड सफाइको १८५औं हप्तामा गोङ्गबुबाट सामाखुसी चोकसम्म सफाइ गरिएको छ । करिब २० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक रिक्सा फोहर सङ्कलन गरिएको अभियानकर्मी एवं लोकगायक तिलक बस्नेतले बताए ।

ललितपुरको गोदावरी खोला सफाइको ८४औं हप्तामा गोदावरी नगरपालिकाको छ स्थानमा सफाइ गरिएको छ । वडा नं १, २, ३ र १४ का विभिन्न स्थानमा नजिक नजिक सफाइ गरियो । भौतिक दूरी कायम गरी सफाइ गरिएको थियो ।

गोदावरी खोलाका विभिन्न स्थानमा २० वटा बोर्ड राखिएको छ । नगरपालिकाको सहयोगमा १० र अन्य संस्थाको सहयोगमा १० वटा जनचेतनामूलक बोर्ड राखिएको छ । फ्लेक्स नराखी पुनःप्रयोग हुने फलामको बोर्ड राखिएको छ । उपत्यकाका सबै सफाइ अभियान भौतिक दूरी कायम गरी कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय अपनाएर गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस