२४ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाका सेवा पूर्णरूपमा बहिष्कार गर्ने चेतावनी दिएको छ । संघले शनिवार एक विज्ञप्ति जारी गर्दै भोलि (आइतबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएको हो ।
डा. केसी सत्याग्रहको २७ औँ दिनमा पुगिसक्दा पनि सरकार केसीको जीवन रक्षाका निम्ति गम्भीर नभएको र वार्ता र संवादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ ।
यसअघि संघले बुधवार नै विरोधका चरणबद्ध कार्यक्रम गर्ने निर्णय गरेको थियो। बिहीबार सरकार र केसी पक्षबीचको वार्ता सकारात्मकरुपमा अगाडी बढेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो । तर शुक्रवार राति करिब डेढ घण्टा भएको दुवै पक्ष बीचको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।
संघले पुनः आइतबार असोज २५ गते देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।
‘वार्ता र सवादलाई तार्किक निष्कर्षमा पु-याई डा. केसीको जीवन रक्षाका निम्ति नेपाल चिकित्सक संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको व्यहोरा अवगत गराउँदै डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ति यस संघ बाध्यताबस मिति २०७७ आश्विन २२ गते बिहीबार वार्ता सकारात्मक रुपमा अगाडि बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ’, संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।