
२४ भदौ, काठमाडौं । कोरियाको एसियाना एयरलाइन्सले पिसिआर रिपोर्ट नभएका ११ यात्रुलाई त्रिभुवन विमानस्थलमा ल्याएको छ । विमानमा १ सय ६० यात्रु सवार थिए । तर, यीमध्ये ११ जनाको पिसिआर रिपोर्ट थिएन ।
शनिबार कोरियाबाट चार्टड फ्लाइट आएको यो विमानमा ११ यात्रुको पिसिआर नभए पनि होटल क्वारेन्टिनमा उनीहरुलाई नराख्न दबाब दिइयो । विमानस्थल स्रोतका अनुसार विमानस्थल र अध्यागमन प्रशासनलाई उनीहरुलाई क्वारेन्टिनमा नपठाउन दबाब दिइएको हो ।
नेपालमा एसियानाको एयरलाइन्स्को जिएसए गण्डकी ट्राभल्स हो । ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोने चाहिँ कोरियाबाट यो विमानमा कोही यात्रु नआएको दाबी गर्छन् । ‘त्यो विमानले मेडिकल सामान लिएर आएको हो,’ उनले भने, ‘त्यो कार्गो फ्लाइट हो ।’
तर, विमानस्थल प्रशासनले भने यो विमानमा १ सय ६० यात्रु आएको र ११ यात्रुले पिसिआर रिपोर्ट नल्याएको दाबी गरेको छ ।
यो एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो ।
सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरी यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए । ‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने । सरकारले पछिल्लाे समय तोकिएको मापदण्ड पुरा गरेर उडान गर्न छुट दिएकोमा सोको बेवास्ता गर्दै एयरलाइन्सले लापरवाही गरेको बाहिरिएको हो ।