समाचार

दशैं नजिकिएसँगै ‘सेल अफर’ले तात्यो बजार

dashain offer

२५ भदौ, काठमाडौं । दसैं नजिकिएसँगै बजार ‘सेल अफर’ले तातेको छ । व्यापारीहरुले दसैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारीहरु देखिन्छन् । तर यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवश्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।  दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यकाभित्रका मूख्य बजारहरु सेल अफरले तातेको छ ।

खासगरी लत्ताकपडा, जुत्तालगायत फेन्सी पसलहरुमा सेल अफर र विभिन्‍न छुटहरुका अफर टाँसिएका ब्यानरहरु प्रशस्तै देखिन्छ । व्यापारीहरुले १० देखि ६० प्रतिशतसम्म छुट दिई सेल अफर ल्याएका छन् । लामो समय कोभिड १९ रोकथामका लागि लागु भएको लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागि पनि अधिकांश व्यापारीहरुले सेल अफर ल्याएको बताएका छन् ।

लकडाउनमा व्यापार गर्न नपाए पनि घरभाडा लगायतको दायित्व व्यहोर्नुपरेको अवस्थामा आफुसँग भएको स्टक सामानको क्लियरेन्स गरी आर्थिक जोहो गर्ने रणनीतिमा व्यापारीहरु छन् । यस्तो अवस्थामा आफुले खरिद गरेको मूल्य भन्दा पनि कम मूल्यमा सामान विक्री गर्न बाध्य भएको व्यापारीहरु बताउँछन् । पसलमा रहेको पुरानो समान सकेर नयाँ समान ल्याउनका लागि पनि सेल अफर मार्फत बिक्री गर्ने रणनीति अपनाइएको व्यापारीहरुको भनाई छ ।

उपभोक्ताकर्मीहरु भने दसैं-तिहार र छठ पर्वलाई लक्षित गरी ल्याइएको सेल अफरको बजारलाई नियमन गर्नुपर्ने बताउँछन् । खासगरी सेल अफरमा बिक्री गर्न लागिएका समानहरुको वास्तविक गुणस्तर र मूल्यको जानकारी पर्याप्त नहुने र उपभोक्ताले ढुक्क भएर खरिद गर्न पाउने अवस्था नरहेकाले नियमनको आवश्‍यकता रहेको उपभोक्ताकर्मी माधव तिमिल्सिनाले बताए ।

दसैं, तिहार र छठमा नयाँ कपडा, घरायसी सामग्रीहरु किन्‍ने ग्राहक धेरै हुन्छन् । सेल अफरमार्फत ग्राहक तान्‍न पनि व्यापारीहरुले विभिन्‍न रणनीतिसहितको अफर ल्याएका हुन्छन् । सेल बजारमा सस्तोमा समान पाउने भए पनि त्यसको गुणस्तरको विषयमा भने खुलाइएको हुँदैन । यसबाट उपभोक्ताले सही समान पाउन सक्छन्/सक्दैनन् भन्‍ने निश्‍चित भने नभएको उपभोक्ताकर्मीहरु बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस