
२६ असोज, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
मर्मतको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गर्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द हुनेछ । राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् ।
केही साता पहिले अविरल वर्षासँगै झरेको पहिरोले राजमार्गको दर्जनौँ ठाउँमा पहिरो गएको छ । अहिले पनि यस ठाउँमा एकतर्फी सञ्चालनमा छ । सडक पूर्णरूपमा सञ्चालनका लागि मर्मत गर्न थालिएको अधिकारीले बताए । दशैं र तिहार आइसकेकाले तत्काल सडक मर्मत गर्न लागिएको अधिकारीले बताए ।