समाचार

बैंकको नोट, फोनको स्क्रिनमा कोरोनाभाइरस २८ दिनसम्म जीवित रहन सक्छ : अध्ययन

mobile

२६ भदौ, काठमाडौं । कोभिड–१९ का भाइरस बैंक नोट, फोन स्क्रीन र स्टेनलेस स्टीलमा २८ दिनसम्म जीवित रहनसक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका अनुसार यसअघि अनुमान गरिएभन्दा बढी समयसम्म सार्स–कोभिड–२ भाइरस जीवित रहन सक्छन् ।

यद्यपि यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । हालै गरिएको एक अध्ययनमा पराबैजनी प्रकाशको प्रयोगबाट यो भाइरस नष्ट हुने पाइएको थियो ।

तर कुनै चिजको सतहमा रहने भाइरसले मानिस संक्रमित हुने सम्भावना कति छ भन्नेबारेमा भने अझै स्पष्ट भएको छैन । हालसम्म संक्रमित मानिसले खोक्दा, हाँछ्यु गर्दा र कुरा गर्ने क्रममा निस्किएका थुकका छिटाका कारण कोरोना सर्ने गरेको पाइएको छ ।

अनुसन्धानमा के भनिएको छ ?

यसअघि प्रयोगशालामा भएको अनुसन्धानबाट बैंक नोट र सीसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्ने जबकी प्लास्टिक र स्टेनलेस स्टिलको सतहमा यो ६ दिनसम्म जिउँदो रहन सक्ने बताइएको थियो ।

तर अष्ट्रेलियाली एजेन्सी सिएसआईआरओको एक अनुसन्धानमा भाइरस अत्यधिक बलियो र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोनको सीसा, प्लास्टिक र बैंकको नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्ने बताइएको छ ।

कोरोनाभाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमा पत्ता लागे अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा भाइरस निकै समयका लागि जिवित रहन सक्दैन । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस चौबिस घण्टा भित्र संक्रामक हुँदैन ।

चिल्लो सतहमा यो भाइरस धेरै दिनसम्म जीवित रहन सक्छ जबकि कपडाजस्ता सतहमा यो १४ दिनपछि जीवित रहन सक्दैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस