
१६ कात्तिक, काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् ।
उनले यसपटकको क्रिसमस फरक हुने बताउँदै अहिले नै कदम चालिदा परिवारहरु पर्वलाई सँगै बसेर मनाउन पाउने आशा व्यक्त गरेका हुन् । यसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो ।
यो पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।
हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–अवे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना संक्रमण एक्कासी बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ताको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।
आगामीे डिसेम्बर २ तारिखपछि लकडाउन अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ ।