समाचार

कोरोना संक्रमणबाट झापामा थप ३ जनाको मृत्यु

covid 19 dead body

१६ कात्तिक, झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एकजना पुरुष रहेका छन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

शनिवार मात्रै उपचारका लागि नोबेल पु¥याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो ।

केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय पुरुषको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए ।  शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस