
१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक चक्लाबन्दी अनुसार आलुको सामूहिक खेती शुरु गरिएको छ । आयात प्रतिस्थापन र बीउसमेत उत्पादनका लागि किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको हो ।
तिलोत्तमा नगरपालिकाको १ करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको ९४ लाख र किसानको ५२ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको आलुको बिजवृद्धि परियोजनामार्फत् किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।
निर्वाहमूखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिगाहासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् ।
नगरपालिका, युनएनडिपी र किसानको दुई करोड ६३ लाख ७ हजार ६८८ रुपैयाँ लागत सहभागितामा सञ्चालन गरिएको परियोजना मार्फत् किसानलाई अनुदानमा बिउ, मलखाद, कृषि उपकरण उपलब्ध गराइएको छ । यस्तै किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ ।
यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिएको र यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बीउको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीले बताइन् ।
यस क्षेत्रमा गुणस्तरीय बीउ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत् उत्पादित बीउले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पु¥याउने नगरपालिकाको अपेक्षा छ । निर्वाहमुखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बीउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् ।