
१७ कात्तिक, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका ११ सिनागालस्थित वडा कार्यालय नजिक फेला भएको शवको पहिचान खुल्न सकेको छैन । शवको अझै पहिचान नखुलेपछि प्रहरीले शवको फोटो सार्वजनिक गर्दै पहिचानका लागि आग्रह गरेको छ ।
कार्तिक १५ गते दिउँसो ३ः२० बजे वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटो मुनि उत्तानो अवस्थामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५/३६ वर्ष उमेरका ती व्यक्तिको सनाखत नभएका कारण प्रहरीले सर्वसाधारणलाई समेत सनाखत गर्न सहयोगका लागि अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले ती व्यक्तिको अनुहार प्रष्टै भएकाले उनको फोटो सार्वजनिक गरी मृतक पुरुषको सम्बन्धमा कुनै जानकारी वा सूचना भए १०० नम्बरमा फोन गरी जानकारी गराउन पनि अपिल गरेको छ ।
ती पुरुषको उचाई अन्दाजी ५.५ फिट, गोलो अनुहार, लामो कालो कपाल, दाह्री जुँगा पालेको, छालाको खैरो ज्याकेट, खरानी रंगको हाफ भेष्ट, निलो जिन्स पाइन्ट, स्पोर्ट फेसन लेखेको निलो जुत्ता, कालो बेल्ट लगाएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न भएको डीएसपी थापाले बताए । मृतकको शव धुलिखेल अस्पताल धुलिखेलको शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ ।