१७ कात्तिक, पर्सा । पर्साका मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हत्यामा संलग्न भएको आरोपमा पर्सा विन्दवासीनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भन्ने निरन्जन तिवारीलाई पक्राउ गरेको हो ।
कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका–५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबीच भएको झडपमा चौरसिया गम्भीर घाइते भएका थिए । चौरसियाको उपचारको क्रममा कात्तिक ७ गते वीरगञ्जमा मृत्यु भएको थियो ।
घटनाको ८ दिनपछि गत बिहीबार चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
चौरसियाको हत्या आरोपमा प्रहरीले हालसम्म तिवारीसहित ४ जनालाई पक्राउ गरेको छ । ८ जना अझै फरार रहेको र खोजीकार्य भइरहेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।