
१७ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेलामा प्रतिपक्षी दल जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीसँगै सती नजान सुझाब दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेको भन्दै प्रचण्डलाई ओलीसँगै सती नजान सुझाएका हुन् । सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन् ।
प्रचण्डलगायत नेकपा नेता–कार्यककर्तालाई भट्टराईले समाजवादको बाटो बनाउन विद्रोह गर्न आग्रह समेत गरेका छन् । ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ?’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाॅकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने?
— Baburam Bhattarai (@brb1954) November 2, 2020