राजनीति

अध्यक्ष प्रचण्डका कारण अहिलेको अवस्था आयोः ईश्वर पोखरेल

ishwor pokhrel

१७ कात्तिक, काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्माओलीसँग एक खालको सहमति गर्ने अनि खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरित अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए । सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए ।

‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छभन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैँसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ,’ उनले भने ।

त्यहीकारण समस्या त खडा हुने उनले बताए। उनले थपे, ‘दुई अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पुर्‍याउने कुरा गरे त हुन्थ्यो । त्यो नगर्ने बित्तिकै बिग्रेको हो ।’

पार्टी एकता गर्दाको समयमा भएको सहमतिका आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए ।

‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्‍यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर बढ्नु पर्‍यो । यदि सकारात्मक निष्कर्षमा पुर्‍याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन । यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद् परिणाम हुन्छ,’ उनले बताए ।

अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए। ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरु-अरु साथीहरुसित सल्लाह गर्दै समिकरण बनाउने र त्यो समीकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्याउँछ ।’ उनले भने ।

नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्नेबाहेक केही पनि काम गर्न नसकेको समेत उनले आरोप लगाए । यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस