समाचार

कोरोना संक्रमणबाट महिला वडा सदस्यको मृत्यु

shanti pariyar

१७ कात्तिक, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १०ः०० बजे यहास्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

नेपालगन्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन् । विभिन्न विधिवाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

यसैबीच, आजै भेरी अस्पतालमा गरीएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालद्धारा आज दिउँसो ३ः४५ बजे जारी गरीएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । अस्पतालका अनुसार थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् ।

यसैगरी बाँकेमा आजै ४४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला निको भई घर फर्किएका छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ ।  स्रोत व्यक्ति श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेशनमा बाँकेका २०७ र अन्य जिल्लाका १३ गरी २२० जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस