१७ कात्तिक, जनकपुर । धनुषाको शहिदनगर नगरपालिकामा सोमबार केही समयकै अन्तरालमा एक दम्पत्तिको मृत्यु भएको छ ।
शहिदनगर नगरपालिका–१ थित कुम्भकर्ण टोलमा बस्ने ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान अन्दाजी पौने ८ बजे मृत्यु भएको थियो । त्यसको करिब ५ मिनेट मै उनकी ८८ वर्षीया पत्नी सुमित्रादेवी यादवको मृत्यु भएको हो ।
मृतक यादवका भतिजा भरत यादवका अनुसार सोमवार बिहान ७ः४५ बजे राम खेलावनको मृत्यु भएको थियो, त्यसको ५ मिनेटपछि ७ः५० बजे उनकी पत्नी सुमिन्द्रा देवीको पनि मृत्यु भएको छ ।
‘बिहान उठेर दिसापिसाब गरेर काका खाटमा बसेर चिया पिउन बस्नुभएको थियो,’ भतिजा भरतले लोकान्तरसँग भने, ‘चिया खाएपछि खाटमा बस्दाबस्दै खाटमै ढल्नुभयो र उहाँको प्राण गयो ।’ उनी ढलेको हल्ला भएपछि के भयो भन्दै खाटमा पुग्दा काकी पनि ढलेर सँगसँगै ५ मिनेटको अन्तरालमा दुवैको मृत्यु भएको यादवले बताए ।
मृतक दम्पतीका १ जना छोरा उपेन्द्र यादव र ४ छोरी छन् । दुवै जनाको मृत्यु एकसाथ भएपछि गाउँका स्थानीय आश्चर्यचकित भएका छन् ।