समाचार

भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

Bhimsen Adarsha High School Devchuli Nabalpur

१८ कात्तिक, काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) जिल्लामा भारत सरकारको आर्थिक अनुदानमा निर्मित एक विद्यालय भवनको भिडियो कन्फरेन्समार्फत उदघाटन गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको ३४ कोठे ‘नेपाल–भारतमैत्री’ भवनको सोमबार उद्घाटन गरिएको हो ।

रु दुई करोड ५८ लाख ३० हजार लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री भवन निर्माणका लागि विसं २०६९ पुसमा सम्झौता भएर २०७० असारमा शिलान्यास गरिएको थियो । भारतीय सहयोगमा निर्माण गरिएको तीन तले भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन, बैठक कोठा, चमेनागृह तथा मेडिकल कक्षसमेतका कोठा निर्माण गरिएका छन् । गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहासहित जनप्रतिनिधि तथा भिडियो कन्फ्रेन्समा जोडिनुभएका भारतीय राजदूतावासका काउन्सिलर डा प्रफुल्लतचन्द्र शर्माले संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

विद्यालय भवन उद्घाटनका क्रममा काउन्सिलर शर्माले विद्यालयको भौतिक पूर्वाधार थपिँदै जाँदा सार्वजनिक विद्यालयमा शिक्षाको भौतिक पूर्वाधार सुधारको लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने बताए । कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा ५५ प्रतिशतभन्दा बढी छात्रा अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले बताए । नयाँ भवन उद्घाटन भएसँगै सूचना र प्रविधिको माध्यमबाट पढाइ गराउन सहज हुने भन्दै विद्यालयको शिक्षालाई ‘डिजिटलाइज’ गरिने न्यौपानेले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस