
१८ कात्तिक, काठमाडौं । पिरामिड शैलीको नेटवर्किङ व्यवसाय मार्फत ठग्ने ३ जनालाई प्रहरीले म्याग्दीबाट पक्रेको छ ।
भारतीय कम्पनी ‘ओरियन्स ग्लोवल मार्केटिङ’ मार्फत पिरामिड शैलीमा सदस्य विस्तार गरेर ठग्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले बताए ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-५, मालेपाटनमा गण्डकी हर्वल स्टोर्स सञ्चालन गरी बस्ने पर्वत जलजला गाँउपालिकाका होमनाथ जैसी, सोही स्थानमा बस्ने बर्ष २४ का सरोज शर्मा र काठमाडौ महानगरपालिका ४ टोखा बस्ने प्रदिप रिजाल छन् ।
म्याग्दी, पर्वत र बाग्लुङमा उनीहरुले ‘छोटो समयमा राम्रो कमिशन आउँछ’ भन्दै भारतमा उत्पादित फुड सप्लिमेन्ट किन्ने सदस्य बनाएर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पिरामिड शैलीको नेटवर्किङ मार्फत सो समूहले २० हजार देखी १ लाख १२ हजारसम्म पैसा लिएर सदस्य बनाउने गरेका थिए ।
डेढ महिनाको अवधिमा उनीहरुले म्याग्दीका १ सय ४१ जनालाई सदस्य बनाएर ठगेको डिएसपी कुँवरले रातोपाटीलाई बताए । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, ०७४ को परिच्छेद–२ को दफा ११ बमोजिम नेपालमा कसनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न पाईंदैन् ।
सो समूहले म्याग्दीका स्थानियलाई पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा बोलाएर नेटवर्क विस्तार गरेको खुलेपछि उनीहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाईएको छ ।