
१८ कात्तिक, दाङ । दाङको तुलसीपुर उप-महानगरपालिकाले प्रत्येक छोरीलाई मासिक एकसय रुपैयाँ दिने गरि कार्यविधी पारित गरेको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५ औं बैठकले कार्यविधी पारित गरेको हो ।
‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै यो लागु हुने भएको छ । उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको र्बैक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । त्यसका लागि चालु आर्थिक बर्षमा बजेट समेत छुट्याइएको छ ।
यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले वालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधीमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताइन् ।
जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुने उपप्रमुख आचार्यको भनाइ छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।
बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ । विचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुने उपमहानगरपालिको बताएको छ ।
समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम फिर्ता नहुने कार्यविधिमा उल्लेख छ ।