स्वास्थ्य

धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै

dhading hospital

१९ कात्तिक, धादिङ । धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो ।

धादिङ अस्पताल परिसरको बिरामी भर्ना गरिने क्षेत्रसँगै रहेको क्षेत्रमा अहिले भेन्टिलेटर राख्ने र बिरामीलाई कुर्ने आइसीयूमा राखिने स्थान बनाउँदै गरेको तथा एक सातामा तयार हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए । अस्पतालले दुई भेन्टिलेटर र आठवटा आइसीयू शय्यासहितको थप सेवा दिन निरन्तर लागिरहेको र एक सातापछि अस्पतालले सेवा शुरु गर्न सकिने अवस्थामा पुगेको जनाएको छ ।

कोभिड–१९ उपचारका लागि स्थापना गरिने भए पनि यो सेवा शुरु भएपछि जिल्लामै सुविधासम्पन्न अस्पतालको रूपमा रहने भएको छ । आइसीयू र भेन्टिलेटर राखिएपछि बिरामीले जिल्लामै अति संवेदनशील अवस्थामा समेत सेवा पाउनेछन् भने गरिब नागरिकले घरआँगनमै निःशुल्क सेवा पाउने अवस्था आएको अस्पतालका अध्यक्ष धमलाको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर सेवा सञ्चालन भएपछि गम्भीर बिरामी भएकाहरुले समेत उपचार पाउने र सबै किसिमको विशेषज्ञ सेवासमेत रहने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । हाल धादिङ अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवामा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेका छन् भने विषेशज्ञसहितको टोलीले सेवा दिइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस