
१९ कात्तिक, ललितपुर । आफ्नै सहकर्मीको हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाडदेवी गाउँपालिका– घर भई हाल ललितपुर महानगरपालिका–५ थसीखेल महालक्ष्मीस्थान बस्ने ४७ वर्षीय मानकाजी श्रेष्ठ छन् ।
ब्यूरोबाट खटिएको टोलिले बुधबार ललितपुरको थसीखेलमा भट्टी (होटल) चलाएर जिविकोपार्जन गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता एसपी बेलवहादुर पाण्डेले जानकारी दिए । काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीस्थित निर्माणेश्व मन्दिर नजिक १६ कात्तिक २०५४ मा काभ्रे पनौती घर भएका १८ वर्षीय श्याम खड्काको हत्या भएको थियो ।
खड्काकै सहकर्मी ध्रुव भन्ने मानकाजी श्रेष्ठ समेतले हत्या गरी फरार रहेका थिए । श्रेष्ठको नाममा काठमाण्डौं जिल्ला अदालतले २०५४ मा पक्राउ पुर्जी जारी गरेको थियो ।